Monday, March 21, 2011

गोरखा दरबार सर्वसाधारणका लागि खुला


सात वर्षअघि दरबार हत्याकाण्ड भएकै दिन पारेर गोरखा दरबार सर्वसाधारणका लागि खुला भएको छ। यसअघि गोरखा दरबारमा सर्वसाधारणलाई पस्न दिइँदैन थियो। तर चार दिनअघि विधिवत् गणतन्त्र घोषणा भइसकेको देशमा यस्तो बन्देज किन लगाउन जरुरी थियो र। त्यसैले ऐतिहासिक गोरखा दरबार सर्वसाधारणका लागि खुला गरिएको हो।
आज बिहान नेकपा माअ‍ोवादीका अध्यक्ष प्रचण्डले दरबार परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएको साइनबोर्ड झुण्ड्याएर दरबार सर्वसाधारणका लागि खुला गरेका थिए।

दरबार सर्वसाधारणका लागि खुला गरिएपछि उनले नेपाल एकीकरणकर्ताका रुपमा राजा पृथ्वीनारायण शाहको प्रशंसा पनि गरे। उनकै कार्यकर्ताहरुले पृथ्वीनारायण शाहका शालिकहरु केही समयअघि ढालेका बेला उनले भने, देश पृथ्वीनारायण शाहले एकीकरण नगरेका भए गणतन्त्र पनि आउँदैन थियो। इतिहासका सकारात्मक पक्षको सम्मान गर्नुपर्ने पनि उनको कथन थियो।
यी सकारात्मक कुरा गोरखाबाट आए पनि सहमतिको राजनीति खोजिरहेको नेपालले असहमतिको अर्को संकेत पनि पाएको छ आजै। आजै प्रचण्डले भनेछन्, दुई तीन दिनभित्र हामीलाई सरकार हस्तान्तरण गरिएन भने हामी आन्दोलनमा जान्छौँ। उता, शान्तिमन्त्री रामचन्द्र पौडेलले काठमाडौँको कार्यक्रममा भनेछन्, माअ‍ोवादी नेतृत्व स्टालिन बन्न खोज्दैछ।
गणतन्त्र घोषणा भएपछि यो कस्तो असहमतिको राजनीति गर्न थालेका हुन् दलहरुले ? सबै मिलेर जानुपर्ने बेलामा फेरि यो आन्दोलनको धम्की, घुर्कीले देशलाई कहाँ पुर्‍याउला ?
उता, आजै नारायणहिटी दरबारको स्थिति बुझ्न गएको सरकारी टोलीले भनेछन्, दरबार हामीले बाहिरबाट हेर्दा जति सुरक्षित देख्छौँ, त्यस्तो हैन रहेछ। यहाँको भौतिक संरचना जीर्ण अवस्थामा छ। यी भूतपूर्व राजाहरुले त्यत्राविघ्न बजेट लिएर पनि आफै बस्ने दरबारलाई समेत राम्रो अवस्थामा राख्‍न सकेनछन् त्यसो भए ?

No comments:

Post a Comment