By Bikash Gurung,March 11th, 2011

जापानले आज ठूलो संकटको सामना गर्नुपरिरहेको छ। त्यो देशको इतिहासमा नै सबैभन्दा ठूलो ८ दशमलव ९ रेक्टर स्केलको भूकम्प र त्यसपछिको सुनामी अर्थात् समुद्री छालले विभिन्न प्रान्तका नगरका नगर भत्काउँदै बगाउँदै गरेको दृश्य अहिले विश्वभरका टेलिभिजन च्यानलहरुमा छाइरहेको छ। कयौँको मृत्यु भइसकेको छ, कयौँ हराइरहेका छन्। क्षतिको व्याकपतालाई हेर्दा पूर्ण विवरण आउन अझै कयौँ दिन लाग्ने जस्तो देखिन्छ।
जुन देशमा बसे पनि हामी आखिरमा मानव हौँ। एक ठाउँको मान्छेलाई कष्ट हुँदा, संकट पर्दा अर्को ठाउँको मान्छेलाई दुख्छ। यही हो मानवीयता। आउनुस्, हामी सबै जापान र त्यहाँका बासिन्दाहरुको भलो होस् भनी प्रार्थना गरौँ। तपाईँ जापानमा हुनुहुन्छ भने भूकम्पमा कस्तो अनुभव गर्नुभयो, लेख्नुहोला। साथमा जापानमा रहेका नेपालीहरु आफू ठीक रहेको बताउन र कसैको बारेमा जानकारी पाउन पनि हामी तलको कमेन्ट बक्सलाई प्रयोग गर्न सक्छौँ। यहाँ राखिएका सबै फोटो ट्विटपिकबाट लिइएका हुन्।


आज दिउँसो टेलिभिजन च्यानल चलाउँदै गर्दा सीएनएनमा ब्रेकिङ न्युज भनेर जापानमा ८.८ रेक्टर स्केलको भूकम्पको खबर थियो। त्यहीँ रोकिएँ। केही समयपछि ८.९ भनियो। त्यतिबेला भूकम्पमात्र गएको थियो र सुनामीको चेतावनी दिइँदै थियो। जापानको एनएचके टेलिभिजनको हेलिकप्टरबाट जसै दृश्य देखाउन थालियो, तब म लगायत सबै साथीहरु स्तब्ध भयौँ। हेर्दाहेर्दै सुनामीले जापानको समुद्र छेउका सहरहरुमा विध्वंश मच्चाउन थालिसकेको थियो।
ज्वालामुखी निस्केपछि जसरी आगो र खरानीको लाभा बग्दै गरेको देखिन्छ, त्यस्तै खालको दृश्य देखिँदै थियो। समुद्रको पानीमा माटो, हिलो, कार, ट्रक, घरहरु मिसिएर द्रुत गतिमा अघि बढिरहेको छालले ठूलो इलाकालाई छोप्दै थियो। खाली देखिएका खेतहरु एकैछिनमा त्यो फोहोरी छालले भरिसकेको हुन्थ्यो। त्यो छाल अगाडि बढ्दै गर्दा नजिकैको सडकमा कारहरु गुडिरहेको पनि देखिन्थ्यो। २०१२ फिल्ममा पनि यस्तै खालका दृश्य थिए, तर त्यो एनिमेसनबाट देखाइएको थियो। तर यो त वास्तविक घटना, त्यो पनि लाइभ !
सबभन्दा मार्मिक चाहिँ घरको माथिल्लो तल्लाबाट सेतो कपडा हल्लाएर उद्धारका लागि याचना गर्दै गरेको दृश्य थियो। त्यो अग्लो घरको चारैतिर सुनामीको पानी फैलिसकेको थियो। तेल प्रशोधन केन्द्रहरुमा आगो लागेका थिए, आणविक भट्टीहरुमा क्षति पुगेको भनिएको छ। अझै कयौँ देशमा त्यो महाभूकम्पको प्रभावबाट समुद्रमा उत्पन्न सुनामीको छालले प्रभाव पार्न सक्ने चेतावनी जारी गरिएको छ।

No comments:
Post a Comment