वाह, यस्तो पो देश!!नेपालमा यदाकदा भन्ने गरिन्छ – मेचीलाई दुःख पर्दा महाकाली रुन्छिन्, रोल्पामा अकालमा मान्छे मर्दा काठमाडौँले आँसु झार्छिन्। तर यो विपतको घडीमा जापानीहरुले त्यो व्यवहारमा गरेर देखाएका छन्। गएको शुक्रबार दिनको २.४६ मा जापानको इतिहास मै सबैभन्दा ठूलो ९.० रेक्टर स्केलको भूकम्प गएको कुरा विश्वलाई अवगत नै छ। त्यो भूकम्पले जमिन हल्लाएर निम्त्याएको विनाशको १० मिनेट पनि बित्न नपाउँदै चुनामीले तोहोकु जापानको बस्ती बस्ती निलेको दृश्य पनि संसारले प्रत्यक्ष हेरेकै हो। यो महाविनाशले लिएको ज्यानको संख्या गन्न नभ्याउँदै फेरि फुकुसिमा केनको आणविक भट्टीहरुमा ठूलाठूला विस्फोट भए। अनि त्यसैमा आएर अहिले संसारको ध्यान अडिएको छ। विस्फोटसँगै अहिले लगभग २३० किमी जति टाढा रहेको राजधानी टोक्योमा विभिन्न खाले हल्लाहरु फिजिएका छन्। कोही भन्छन् टोक्योसम्म पनि विकिरणहरु आइसक्यो रे भागौँ, देशै फर्कौ; कोही भन्छन् खासै आत्तिनु पर्दैन सदाको जस्तै साधारण जिन्दगी ज्युँदा हुन्छ। जापान सरकारले २० किमी वरपरका बासिन्दाहरुलाई अन्यत्र जान अनि २० देखि ३० किमीभित्रकालाई घरभित्रै बस्न आग्रह गरेको छ। टोक्योस्थित अमेरिकी राजदुतावासले ५० माइल (८० किमी) वरपर विकिरणको खतरा रहेकोले त्यहाँ नजान आफ्ना नागरिकहरुलाई सूचित गराएको छ। यस्तै अन्यौलबीच फ्रान्सले दुई वटा विशेष जहाज पठाई जापानबाट आफ्ना नागरिकहरु स्वदेश फिर्ता लगेको सुन्नमा आएको छ। मेरा एक जना तुर्किश साथीबाट बिहान प्राप्त इमेलका अनुसार उनीहरुलाई पनि बारम्बार आफ्नो राजदुताबासबाट फोन आइरहेको अनि सकेसम्म टोक्यो छाडेर जान सुझाव दिइएको थाहा भएको छ। यसरी टोक्योका करिब १ करोड २० लाख बासिन्दा के सत्य हो र के हल्ला मात्र हो भन्ने दोधारमा रुमल्लिएका छन्। आखिर जहाँ गए पनि हामी एउटै आकाश ओढ्छौँ, एउटै हावामा श्वास फेर्छौ, भाग्न त भाग्ने तर कहाँसम्म अनि कहिलेसम्म? – यस्तै अन्योल प्राय: सबैको आँखामा देखिन्छ। टोक्यो नै सुरक्षित छ कि ओसाकासम्म गए हुने हो, जापान नै नछाडी नहुने हो कि- सबैको आ- आफ्नै तर्क र विचार छ। प्राय: गाइजिन (विदेशी) हरु आ-आफ्ना देशका लागि रवाना भै सकेका छन्, कोही जाने तरखरमा छन्। तर यस्तो अन्यौलबीच बाचिरहेका टोक्योवासी जापानीहरुले भने विपतको समयमा पनि संयमले देशप्रेमको नमुना उजागर गरेका छन्। टोक्यो विद्युत प्राधिकरण (TEPCO) ले load shedding को दैनिक schedule निकाले पनि जनताले स्वस्फूर्त रुपमा विद्युत खपतमा कमी ल्याएकोले धेरैजसो ठाउँमा अहिलेसम्म load shedding गरिएको छैन। मान्छेहरुले Elevator र Escalator छाडेर सिढी चढिरहेका छन्। तोहोकुको महाविनाश सँगसँगै टोक्योबासीले खानेपानी, चाउचाउ, चामल, पाउरोटी लगायतका वस्तुहरु “स्टक” गरे पनि मिडियाले टोक्योमा आत्तिनु पर्दैन भने लगतै विस्तारै सामान पाउन थालिएको छ। तीन दिनको प्रयासपछि आज बल्ल मैले ५ किलो चामल र एक पोका दुध किने। तर नेपालमा जस्तो यहाँ न त वस्तुको मूल्य नै बढेको छ, न त कालो बजारी नै। बरु सेन्दाई र इवातेतिरको गाउँमा पेट्रोल बिक्रेताहरु भएका केही पेट्रोल र मट्टीतेल पीडितहरुलाई निःशुल्क वितरण गर्दैछन्। साँच्चै तोहोकुलाई आपत पर्दा एउटा एउटा टोक्योबासीको मन रोएको यहाँ महसुस गर्न सकिन्छ। तोहोकुलाई सहयोग गर्न कलाकार, कर्मचारी, खेलाडी, विद्यार्थी र सर्वसाधारण लागि परेका छन्। Sandwich Man नामले प्रख्यात दुई जना गेनोजिन (कलाकार) टोक्योका मूल सडकमा चन्दा उठाउँदै छन्। यही महाभूकम्पले गर्दा थुप्रै विद्यालयहरु आफ्ना दीक्षान्त समारोह स्थगित गर्न बाध्य भएका थिए। तर ती विद्यालयहरु दीक्षान्त समारोहका लागि छुट्याइएका पैसाहरु भूकम्प र चुनामीपीडितहरुको लागि पठाउँदैछन्। जापानिज बेसबल स्टार दाइसुके मात्सुजाका चन्दा उठाउँदैछन् भने The Japanese Football Association (JFA) ले चाँडै नै न्युजिल्यान्डविरुद्ध च्यारिटी म्याच खेलाउने भएको छ। कर्मचारीहरु आफ्नै तरिकाले सरकारलाई सहयोग गर्न तत्पर छन्। यो हेर्नुस: “What we, fortunate undamaged companies, must do is to PAY TAX. Japanese government is going to need enormous money. The amount of donation we individually offer won’t be much. But as corporate enterprise tax, we can offer over ten million yen at once. From now on, we have to make …even more efforts and increase our profit to pay large tax.” आपतको बेला विदेशीहरु रि -इन्ट्री परमिट (Re -Entry Permit) लिन सिनागावाको इम्मिग्रेशन अफिस (Tokyo Immigration Office) मा लाम लागि रहँदा टोक्योबासी जापानिजहरु भने देशको घाउलाई आफ्नै घाउ सम्झी मलमपट्टि गर्न ब्यस्त छन्। पढ्न कै लागि भए पनि यस्तो देशमा आउन पाएकोमा मन गर्वले फुलेर आउँछ। अनि यहाँको देशबासीलाई देख्दा चिच्याएर भन्न मन लाग्छ – वाह, यस्तो पो देश!! gin by wpburn.com wordpress themes |
Monday, March 21, 2011
वाह, यस्तो पो देश!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment